पर्सामा सशस्त्र प्रहरीको सफल अपरेसन, ३६ लाख भन्दा बढी मूल्यको सामान भन्सारमा बुझायो
मंसिर ३ पर्सा, आनन्द पटेल–
सशस्त्र प्रहरी बल नेपाल, अलौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र ल्याइँदै गरेको विभिन्न सामान नियन्त्रण गरी भन्सार कार्यालयमा दाखिला गरेको छ।
झौवा चेकपोष्टमा ना ४ च ६९३५ नम्बरको पिकअप गाडीमा लोड गरिएको कपडा बरामद गरी भन्सार कार्यालयमा बुझाइँदा मूल्य रु. २७,१३,९४० कायम भएको छ। सोही दिन रु. २,२२,१०० बराबरको मोटरसाइकल र गाडीका पार्टस समेत नियन्त्रणमा लिई बीरगन्ज भन्सारमा बुझाइएको छ।

वीरगन्ज महानगरपालिका वडा नं २२ जगरनाथपुरमा भारतबाट अबैध भन्सार छली ल्याउँदै गरेको कपडा तथा इलेक्ट्रोनिक्स सामान रु. २,५४,६०० बराबर नियन्त्रणमा लिई भन्सारमा बुझाइएको छ। त्यस्तै, BR 05AV 5983 नम्बरको मोटराइकलको हेल्मेटमा लुकाइएको रु. ३,००,००० नगद फेला पारी, मोटर साइकल र नगद रु. १,५०,००० सहित नियन्त्रणमा लिइ भन्सारमा बुझाइएको थियो।
साथै, बिओपि अमरपट्टीबाट खटिएको टोलीले विन्दवासिनी गाउँपालिका ३ स्थित छठियाघाटमा भारतबाट ल्याइँदै गरेको ५,४०० गोटा (५४ कार्टुन) ब्रोईलर कुखुराको चल्ला बरामदगरी आवश्यक प्रक्रिया पश्चात नष्ट गरेको छ। यसरी नियन्त्रणमा लिइएका सबै सामानको कुल मूल्य ३९ लाख भन्दा बढी रहेको बताइएको छ ।
सशस्त्र प्रहरी बल पर्साले अवैध भन्सार छली रोक्न निगरानी कडा बनाउँदै गरेको सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हेड क्वार्टर पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिएका छन ।