पर्सामा लागुऔषध विरुद्ध सशस्त्र प्रहरीको कडा अभियान, २१३ किलो गाँजा बरामद

37

मंसिर ११,बीरगञ्ज,  आनन्द पटेल

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार नियन्त्रण गर्न तिब्र अनुसन्धान तथा ‘Intelligence Led Operation’ निरन्तर सञ्चालन गर्दै आएको छ।

लागुऔषध सेवन र कारोबारले समाजमा पार्ने गम्भीर नकारात्मक प्रभावलाई मध्यनजर गर्दै गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा प्रभावकारी ढंगले अघि बढाइरहेको बताएका छन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशन अनुसार पर्सा जिल्लामा पछिल्लो समय निगरानी झनै कडा पारिएको उनले जानकारी दिए।

यस्तै, विशेष सूचनाका आधारमा खटिएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५, बटसौरास्थित खेती क्षेत्रको परालको कुन्युमा लुकाएर राखिएको २१३ किलोग्राम (२ क्विन्टल १३ किलोग्राम) गाँजा बरामद गरेको छ। बरामद गरिएको गाँजा २० वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

कारबाही टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लले गरेका थिए।

सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले सीमाक्षेत्रमा अवैध कार्य र लागुऔषध तस्करी नियन्त्रणका लागि आगामी दिनमा झनै प्रभावकारी रूपमा अभियानलाई अगाडि बढाइने जनाएको छ।

Leave A Reply

Your email address will not be published.