बारा–खेखरियामा लागुऔषध सहित भारतीय नागरिक पक्राउ
मंसिर ११
बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित छतवा प्रहरी चौकीले लागुऔषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको छ।
वरिष्ठ नायब निरीक्षक अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको BR 05 AN 3532 नम्बरको मोटरसाइकललाई रोक्दै चेकजाँच गरिरहेको क्रममा लागुऔषध बरामद गरेको हो।
जाँचका क्रममा मोटरसाइकलको पछाडिको दूध बोक्ने फलामे साँचो मुनी लुकाइ–छिपाइ राखिएको जुटको बोरा भेटिएको थियो। उक्त बोराबाट १९ प्याकेट सेतो प्लास्टिकले बेरिएको, कोकिन जस्तो देखिने सेतो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित २१ ग्राम ६५० मिलिग्राम रहेको छ।
प्रहरीले मोटरसाइकल र चालक दुबैलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार–पूर्वी चम्पारण जिल्ला, नायकटोलका करिब ३५ वर्षीय लाल बाबु साह हुन्।
साहलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।