पर्सामा ४० लाख बराबरका अवैध सामान र सवारी साधन सशस्त्र प्रहरीले भन्सारमा बुझायो
मंसिर २१ पर्सा आनन्द पटेल—
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साका विभिन्न टोलिहरुले हालै भारतबाट अबैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको ठूलो परिमाणका सामान तथा सवारी साधन नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएका छन्।
मंसिर १८ गते, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२१, परवानिपुरबाट टाटा योधा गाडीमा लोड गरी ल्याइएका २ वटा लैनो भैंसी (मूल्य रु. १,४०,०००) सहित नियन्त्रणमा लिएको छ। गाडीको मूल्यांकन रु. २२,००,००० कायम गरी भन्सारमा बुझाइएको छ।

उही दिन, सीमा सुरक्षा गुल्म भिखमपुरका टोलीले जगरनाथपुर गाउँपालिका–२ बाट भन्सार छली ल्याइएका २ वटा ई–लोडरमा राखेर ल्याइएका १० थान नयाँ ब्याट्री (मूल्य रु. २,००,०००) फेला पारी, ती ई–लोडरलाई रु. ६,००,००० मूल्यांकन गरी भन्सार कार्यालयमा बुझाएको छ।
यस्तै, विभिन्न मितिमा खटिएका टोलीहरूले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली ल्याइँदै गरिएको रु. ६,६८,३०० बराबरका सामग्रीहरू नियन्त्रणमा लिई भन्सारमा सुपुर्द गरेका छन्।
मंसिर १९ गते, बि.ओ.पि. ड्राइपोर्टको टोलीले वीरगञ्ज–२५, बहुअरीबाट मोटरसाइकलसहित रु. १,३१,०८५ बराबरको किराना सामग्री बरामद गरेको छ। त्यही दिन, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको अर्को टोलीले वडा–१६, रेल्वेरोडबाट रु. ४९,३०० बराबरका जुत्ता–चप्पल तथा कपडा नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ।
मंसिर २० गते, एफओबी आश्वारीबाट खटिएको टोलीले मोटरसाइकलमा राखेर ल्याइँदै गरिएको २० रोल नेट तार (मूल्य रु. २०,०००) बरामद गरी भन्सार कार्यालयमा हस्तान्तरण गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बिश्वराज योन्जनले जानकारी दिए ।