सशस्त्र प्रहरी बलद्वारा वीरगञ्जमा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद

72

पौस २० वीरगञ्ज आनन्द पटेल—

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सीमावर्ती क्षेत्रबाट हुने चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणका लागि अभियानलाई तीव्र बनाउँदै आएको छ। सीमा क्षेत्रमा कुनै पनि किसिमका अवैध सामग्री भित्रिन नदिन प्रभावकारी सुरक्षा परिचालनमार्फत कडा निगरानी राख्दै आएको सशस्त्र प्रहरीले त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउँदै आएको जनाएको छ।

लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको सशस्त्र प्रहरी बल, पर्साले विभिन्न समयमा जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरी सम्बन्धित निकायमा बुझाउँदै आएको छ। यसअघि पनि पर्सा जिल्लाका विभिन्न स्थानबाट सयौँ केजी प्रतिबन्धित गाँजा बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको थियो।

सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार, सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६, ईनर्वा स्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा बोरा भित्र लुकाएर राखिएको ७३८ फायल (११ हजार ६८ गोटा ट्याब्लेट) नाइट्राभेट (NITRAVET–10) नामक प्रतिबन्धित लागुऔषध फेला पारेको हो।

बरामद गरिएको उक्त लागुऔषध आवश्यक कानुनी कारवाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको उहाँले जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने लागुऔषध तथा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको अभियान निरन्तर जारी रहने पनि उहाँको भनाइ छ।

Leave A Reply

Your email address will not be published.