श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक नियुक्त
पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक पदमा नियुक्त भएका छन्।
शुक्रबार आयोजित एक कार्यक्रमबीच नव–नियुक्त प्रधानाध्यापक चौहानले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पकहाँमैनपुर गाउँपालिकाको गाउँ कार्यपालिकाको पुस २४ गते बसेको बैठकले तत्कालीन प्रधानाध्यापक मनोज यादवमाथि लागेका विभिन्न आरोपको सन्दर्भमा बहुमतका साथ निर्णय गर्दै उनको सरुवा गरेको थियो। निर्णयअनुसार प्रधानाध्यापक यादवलाई संसारी माई माध्यमिक विद्यालय, सुर्जहामा सरुवा गरिएको छ भने सोही विद्यालयमा सह–प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका पप्पु चौहानलाई निमित्त प्रधानाध्यापकको रूपमा नियुक्त गरिएको हो।

पालिकाका जनप्रतिनिधिहरूको यो कदमले विद्यालयको समग्र शैक्षिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ।
लामो समयदेखि शिक्षण क्षेत्रमा सक्रिय रहेका चौहान शैक्षिक अनुशासन, प्रशासनिक क्षमता तथा विद्यार्थीमैत्री नेतृत्वका लागि परिचित मानिन्छन्।
पदभार ग्रहण गर्दै प्रधानाध्यापक चौहानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–विद्यार्थीबीचको समन्वय मजबुत बनाउने, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा समग्र शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “पठनपाठनको गुणस्तर सुधार, अनुशासित शैक्षिक वातावरण र अभिभावक तथा समुदायसँग सहकार्य मेरो पहिलो प्राथमिकता हुनेछ।”
कार्यक्रममा सहभागीहरूले विद्यार्थी–केन्द्रित सोच र विद्यालय हितमा काम गर्ने नेतृत्वबाट सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै खादा, माला र टीकासहित नव–नियुक्त प्रधानाध्यापक चौहानलाई स्वागत तथा शुभकामना दिएका थिए।
पदभार ग्रहण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, युवा, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नियुक्तिसँगै विद्यालयको शैक्षिक प्रगति अझ सुदृढ हुने अपेक्षा गरिएको छ।