वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा १७ सय थान निःशुल्क कपडा वितरण
२५ पौष, वीरगन्ज ।
वीरगन्ज कपडा बैंकले बढ्दो चिसोलाई मध्यनजर गर्दै शुक्रबार वीरगन्जको घण्टाघर क्षेत्रमा निःशुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा नयाँ तथा प्रयोगयोग्य पुराना गरी करिब १ हजार ७ सय थान कपडा गरिब, असहाय तथा विपन्न नागरिकहरूलाई वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।
वीरगन्ज कपडा बैंकले आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट निरन्तर रूपमा निःशुल्क कपडा वितरण गर्दै आएको छ।
कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाशकुमार उपाध्याय विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा युवा समाजसेवी बरुण चौरसिया, हुकुम सिंह, नेजामुदिन समानी, सुशिला साहनरोत्तम पाण्डे, आईज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, इन्द्रकुमार मानन्धर, घण्टाघर प्रहरी पोस्ट प्रमुख राम विनय झा, संस्थाका सल्लाहकार श्रवणबहादुर रायमाझी, ओमप्रकाश सराफ, उपाध्यक्ष प्रकाश थारु, सदस्यहरू जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, अभय बस्नेत, लम्बु पटेल, सुमितराज गुप्तालगायत तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले
“जो सँग धेरै कपडा छन्, हामीलाई दिएर जानुहोस् र जसलाई आवश्यक छ, निःशुल्क लिएर जानुहोस्”
भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरगन्ज कपडा बैंकले विगत ७ वर्षदेखि आगलागी, बाढी, शीतलहर तथा चिसो मौसमजस्ता विपद्मा पीडितको घर–आँगनमै पुगेर सेवा गर्दै आएको बताए।
उनले शीतलहरका कारण विपन्न वर्गको जनजीवन कष्टकर बन्दै गइरहेको उल्लेख गर्दै सबैलाई आफ्नो आम्दानीको ५–१० प्रतिशत सामाजिक सेवामा खर्च गर्ने बानी विकास गर्न आग्रह गरे।
विशिष्ट अतिथि अधिवक्ता पन्नालाल गुप्ताले वर्तमान कठिन समयमा सबैको सामूहिक प्रयासबाट दिनदुःखी तथा असहायको सेवा सम्भव हुने उल्लेख गर्दै कपडा बैंकको मानवीय अभियानमा निरन्तर साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष लालबाबू सिंहले कपडा बैंकको मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेका थिए।