माघे खिचडी मूल समारोह समिति पर्साद्वारा माघ १ गते भव्य माघे पर्व मनाइने

77

वीरगंज, पुस २९ ।

माघे खिचडी मूल समारोह समिति पर्साले आज नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ १ गते माघे पर्व धुमधामका साथ मनाउने सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले हरेक वर्ष आदिवासी थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने थारु नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुँदै आएको र यस वर्ष पनि पूर्णरूपमा भव्य रूपमा सम्पन्न गरिने जानकारी दिनुभयो।

आदिवासी थारु समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक पहिचान र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रममा घुम्टो, सामा–चकेवा, झम्टा, थारु पूर्वी नाच, थारु समुदायका बालबालिकाद्वारा गीत–नृत्य तथा बाल कला प्रदर्शनी प्रस्तुत गरिने जनाइएको छ। साथै घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायत परम्परागत खानाका प्रदर्शनी पनि राखिनेछ।

माघ १ गते श्री लक्ष्मीनारायण बनठाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिने आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारले जानकारी दिनुभयो।

यसअघि माघ ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्‍याली आयोजना गरिने र साँझ ६ बजे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम राखिएको पनि समितिले जनाएको छ।

माघ १ गते रक्तदान कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी पर्वलाई भव्य रूपमा मनाइने भएकाले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति तथा अन्य महानुभावहरूलाई कार्यक्रममा उपस्थित हुन संयोजक चौधरीले अपिल गर्नुभयो।

पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, मनोजा चौधरी, प्रचारप्रसार संयोजक दिपेन्द्र चौधरी, पुनम चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.