सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथामसम्बन्धी एक वर्षीय योजनाको विषयगत समीक्षा सम्पन्न

80

सिम्रौनगढ, बारा । मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको विषयगत समीक्षा तथा साझेदारी बैठक आइतबार सम्पन्न भएको छ। बैठक सिम्रौनगढ नगरपालिका उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना गरिएको थियो।

बेलायत सरकारको आर्थिक सहयोगमा पिपल इन निड, हामी दाजुभाई र दिव्य विकास स्रोत केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत नगरपालिकाले तयार गरेको उक्त योजनामाथि विषयगत छलफल तथा कार्यशाला गरिएको हो।

छलफल कार्यक्रममा दिव्य विकास स्रोत केन्द्र, नेपाल प्रहरी, सिम्रौनगढ नगरपालिकाभित्र क्रियाशील सामुदायिक संघसंस्था, नागरिक समाजका अगुवा तथा जनप्रतिनिधिहरूले आ–आफ्नो तर्फबाट गरेको योगदान र प्रयासबारे विस्तृत समीक्षा गरिएको थियो। कार्यशालामा हालसम्म करिब ७१ प्रतिशत योजना सफलतापूर्वक कार्यान्वयन भइसकेको जानकारी गराइएको थियो।

कार्यक्रम सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो। नगर प्रमुख कलवारले दिव्य विकास स्रोत केन्द्रले नगरपालिकाभित्र लैङ्गिक हिंसा रोकथामका क्षेत्रमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले नगरपालिकाले यस विषयलाई उच्च प्राथमिकतामा राख्दै योजनामार्फत कार्यक्रमहरू अघि बढाइरहेको र पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

नगरपालिकाले यस क्षेत्रमा छुट्याएको बजेट प्राविधिक कारणले पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै नगर प्रमुख कलवारले आगामी माघ १५ गते हुने नगर परिषद् बैठकबाट आवश्यक बजेट बिनियोजन गरी बाँकी कार्य अघि बढाइने जानकारी दिनुभयो। साथै, विभिन्न संघसंस्था, स्थानीय अगुवा तथा समाजसेवीहरूको सक्रिय सहयोग नगरपालिकाका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा विभिन्न संघसंस्था र विशेष गरी दिव्य विकास स्रोत केन्द्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुखले धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनहरूमा यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सबै सरोकारवाला निकायलाई एकजुट भएर अघि बढ्न उहाँले आह्वान गर्नुभयो।

छलफल कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका परियोजना प्रबन्धक गणेश ठकुरीले सरोकारवाला निकाय, जनप्रतिनिधि तथा संघसंस्थाहरूको संयुक्त प्रयास बिना लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य प्रभावकारी हुन नसक्ने बताउनुभयो। उहाँले यसले नगरपालिकाको समग्र विकास, समुदायमा शान्ति स्थापना तथा बालबालिकालाई सुरक्षित वातावरणमा विद्यालय जान सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै, योजना प्रभावकारी रूपमा कार्यान्वयन भए नगरपालिकाको LISA मूल्याङ्कनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका परियोजना अधिकृत सुनिल कुमार, सिइओ लता मौर्य, विभिन्न वडाका वडा अध्यक्षहरू, नगरपालिकाका बोर्ड सदस्यहरू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय संघसंस्था, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.