बहुदरमाई–६ का युवाहरू रास्वपातर्फ आकर्षित, घण्टी छापमा जनमत निर्माण

35

वीरगञ्ज, १२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको उपस्थितिमा बहुदरमाई नगरपालिका वडा नम्बर–६ स्थित भौराटारमा रास्वपाको वडा भेला सम्पन्न भएको छ।

विभिन्न पृष्ठभूमिबाट आएका स्थानीय युवाहरू भेलामा स्वतःस्फूर्त रूपमा सहभागी हुँदै रास्वपासँग जोडिने र आगामी निर्वाचनको चुनावी अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै घण्टी छापको पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी लिने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले युवाहरू नै देश परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पुरानो राजनीति, निराशा र अवसरको अभावबाट दिक्क भएका युवाहरू आशा र विश्वासका साथ रास्वपासँग जोडिनु भएको छ। यो केवल समर्थन मात्र होइन, परिवर्तनको स्पष्ट सङ्केत हो।” जिल्लाभर युवाहरूको समर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै उहाँले नयाँ राजनीतिक संस्कार युवाहरूसँगै स्थापित गरिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा रास्वपाका नगर अध्यक्ष चन्दन यादवले युवाहरूको सक्रिय सहभागितालाई स्वागत गर्दै पारदर्शी, जवाफदेही र जनमुखी राजनीतिका लागि रास्वपा व्यवहारिक विकल्प बनेको धारणा राख्नुभयो।

भेलामा सहभागी स्थानीय युवा विकास कुशवाहाले विगतमा धेरै नेताहरू देखिए पनि अपेक्षित काम नदेखिएको अनुभव सुनाउँदै युवाहरू अब सचेत भएर विकल्प खोज्ने अवस्थामा पुगेको बताए। “हामीले धेरै भाषण सुनेँ, तर काम देखेनौँ। अब युवाले नेतृत्व खोजेको हो, र त्यो विकल्प रास्वपामा देखेका छौँ,” उनले भने। बहुदरमाई–६ का अधिकांश युवाहरूले सफा राजनीति र जवाफदेही नेतृत्वको अपेक्षासहित घण्टी छापमा मतदान गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।

वडा भेलाले युवाहरूको मनोभाव, परिवर्तनको चाहना र नयाँ राजनीतिक विकल्पप्रतिको विश्वासलाई स्पष्ट रूपमा उजागर गरेको सहभागीहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.