माईस्थानमा अनिल रुङटाको घरदैलो उत्साहपूर्ण, युवाको साथले थप आत्मविश्वास

63

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत माईस्थान क्षेत्रमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङटाको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

प्रचार–प्रसार केन्द्रको उद्घाटनसँगै सुरु गरिएको घरदैलो कार्यक्रममा रुङटाले वडावासीसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना र प्रतिबद्धताहरू प्रस्तुत गर्नुभएको थियो। घरदैलोका क्रममा स्थानीय मतदाताले उहाँलाई आत्मीय स्वागत तथा आशीर्वाद प्रदान गरेका थिए।

उम्मेदवार रुङटाले युवाको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको बताउँदै उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्नुभयो।

वडा नं. ७ का बुथ सभापति सुरेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूका अनुसार पार्टीका महामन्त्री गगन थापा को नेतृत्व भूमिकापछि युवाहरूमा पार्टीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ।

रुङटाले वडा नं. ७ सहित क्षेत्र नं. १ का मतदाताले अत्यधिक मतले विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.