गोरखामा पहिरोपछि बूढीगण्डकीमा लेदो सहित बाढी, १० जना सम्पर्क विहीन

35

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतमा गएको पहिरोपछि बूढीगण्डकी नदीमा लेदो सहितको बाढी आएको छ। बाढीले नदी आसपासका बस्ती, पदमार्ग, पुल लगायतका संरचनामा क्षति पुर्‍याएको छ भने कम्तीमा १० जना सम्पर्क विहीन भएका छन्।

विङ्गिलुङ खोलामा सुरु भएको बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको थियो। विङ्गिलुङ र स्यार खोला बूढीगण्डकी नदीका सहायक खोला हुन्।

बाढीले अहिलेसम्म दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी छवटा पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

बाढीले धादिङको त्रिपुरासुन्दरी र गोरखाको आरुघाट स्थित सोती तथा मान्बु जोड्ने पक्की पुल बगाएको छ। आरुघाटमा मध्यपहाडी लोकमार्गमा पर्ने पुलसमेत बाढीले बगाएको छ।

त्यस्तै, धार्चे गाउँपालिका–१ हुल्चोक र वडा नम्बर ३ उहिया जोड्ने बेलिब्रिज पनि बगेको छ। धार्चे गाउँपालिका–५ माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल समेत बाढीले बगाएको छ।

चुमनुब्री गाउँपालिकाको ठाडो भर्याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ।

स्थानीयका अनुसार बूढीगण्डकी नदी बेलाबेलामा थुनिने र त्यसपछि एक्कासि लेदोसहितको बाढी आउने गर्दा ठूलो क्षति भएको हो।

बेनीघाटदेखि मुग्लिनसम्म बाढीको जोखिम- 

बूढीगण्डकी नदीमा बाढी जोखिमको तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मका क्षेत्रमा जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको जनाएको छ।

महाशाखाले उक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा पनि मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.