पर्सा–२ मा चुनावी माहोल तातिँदै, ड्राइपोर्ट बहुअरीमा टेमानीको सक्रिय अभियान
वीरगञ्ज (पर्सा), ८ फागुन — पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिँदै वीरगञ्ज महानगरपालिका वडा नं. २४ ड्राइपोर्ट बहुवरी टोलमा स्थानीय मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवारी दिएका टेमानीले चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दासँग भेटघाट गरी उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे गहिरो रूपमा जानकारी लिएका हुन्।
ग्रामीण भेगमा पर्ने बहुवरी टोलमा पुगेका टेमानीलाई स्थानीयले स्वागत गर्दै आफ्ना दैनिकीका कठिनाइहरू खुलेर सुनाए। विशेषगरी खानेपानीको चरम अभाव, शिक्षा क्षेत्रको कमजोर अवस्था, स्वास्थ्य सेवामा पहुँचको कमी तथा कृषि क्षेत्रमा देखिएका समस्याबारे गुनासो गरिएको थियो।
खानेपानी र स्वास्थ्य मुख्य समस्या
स्थानीयका अनुसार नियमित शुद्ध खानेपानीको व्यवस्था नहुँदा महिलाहरू र बालबालिकाले टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता छ। कतिपय हातेधारा बिग्रिएका छन् भने पाइपलाइन जडान भए पनि पानी नआउने समस्या रहेको गुनासो छ। यसले स्वास्थ्यमा समेत नकारात्मक असर परेको स्थानीयको भनाइ छ।
स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको भन्दै सामान्य उपचारका लागि वीरगञ्ज बजार धाउनुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्। स्वास्थ्य चौकीमा औषधि र जनशक्तिको अभाव रहेको गुनासोसमेत गरिएको छ।
शिक्षा र कृषि क्षेत्रको चुनौती
सरकारी विद्यालयमा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी तथा गुणस्तरीय शिक्षाको अभावले विद्यार्थीहरू प्रभावित भएको अभिभावकहरूको भनाइ छ। कतिपय अभिभावकले निजी विद्यालयमा सन्तान पठाउँदा आर्थिक भार बढेको बताएका छन्।
कृषि क्षेत्रमा सिंचाइ सुविधा अभाव, मलखाद र बिउबिजनको समस्या तथा उत्पादनले उचित मूल्य नपाउने अवस्थाले किसान निराश बनेको गुनासो गरिएको छ। ग्रामीण अर्थतन्त्र सुदृढ गर्न दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको धारणा थियो।
टेमानीको प्रतिबद्धता
स्थानीयका गुनासा सुनेपछि टेमानीले जनताको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे। खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर दीर्घकालीन तथा दिगो समाधानका लागि पहल गर्ने अठोट व्यक्त गर्दै उनले भने,
“जनताको विश्वास र साथ पाएर संसदमा पुगेपछि यहाँका समस्यालाई योजनाबद्ध ढंगले समाधान गर्न पहल गर्नेछु।”
उनले ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेर विकास योजना बनाउनुपर्ने आवश्यकता औंल्याउँदै युवाहरूका लागि रोजगारी सिर्जना, किसानमैत्री नीति तथा सामाजिक न्याय सुदृढ बनाउने एजेन्डा अघि सारे।