पर्सा–२ मा कमल छापको लहर, बर्वामा सन्तोष पटेलद्वारा विकास एजेन्डा सार्वजनिक
वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नं. १९ बर्वामा जनजागरण, घरदैलो तथा स्थानीय अगुवाहरूसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सन्तोष पटेल को सक्रिय सहभागिता रहेको थियो।
घरदैलो अभियानका क्रममा “एक भोट राष्ट्रका लागि, हर हर कमल घर घर कमल” भन्ने नारासहित मतदातासँग प्रत्यक्ष संवाद गरिएको थियो। स्थानीय बासिन्दा, युवा, महिला तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै क्षेत्रको विकास, स्वाभिमान रक्षा र समृद्धिका विषयमा छलफल अघि बढाइएको थियो।
नेपाल जनता पार्टी का तर्फबाट उम्मेदवारी दिएका पटेलले आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल तथा रामराज्य स्थापना जस्ता एजेन्डालाई प्राथमिकतामा राखेको बताएका छन्। साथै भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन र सुरक्षाको प्रत्याभूति, किसानलाई उच्च प्राथमिकता तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले क्षेत्रमै मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण तथा रामायण सर्किट निर्माण जस्ता दीर्घकालीन पूर्वाधार योजनालाई पनि आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन्। रोजगारी सिर्जना गर्दै समग्र क्षेत्रको समृद्धिका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले मतदातालाई कमल छापमा साथ, सहयोग र आशीर्वाद दिन आग्रह गरेका छन्।
कार्यक्रममा स्थानीय अगुवा तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने समग्र वडा क्षेत्र चुनावी माहोलले तातेको देखिएको छ।