अनिल रुङटाको घरदैलोमा स्थानीय जनताको उत्साहपूर्ण स्वागत
वीरगञ्ज। नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नीमा आयोजित कार्यक्रममा बासिन्दाले फूलमाला, अबिर तथा नारासहित उनलाई अभिनन्दन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै रुङटाले प्रतिनिधिसभा सदस्य पदका लागि क्षेत्रको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई योजनाबद्ध ढंगले अघि बढाउने उनको भनाइ थियो।
घरदैलोका क्रममा उनले स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्दै दिगो विकासका लागि निरन्तर लागिपर्ने प्रतिवद्धता जनाए। “जनताको मत नै मेरो शक्ति हो,” उनले भने।
यसैबीच प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताका अनुसार कोनियामा सम्पन्न कार्यक्रम उत्साहजनक र प्रभावकारी रह्यो। स्थानीयको उल्लेखनीय सहभागिताले आगामी निर्वाचनका लागि सकारात्मक संकेत दिएको उनले बताए।
पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थितिसँगै पर्सा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातेको छ।