बारा–४ मा विकास एजेन्डासहित कृष्णकुमार श्रेष्ठको चुनावी दौड
बारा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार कृष्णा कुमार श्रेष्ठ (किसान) ले बारा–४ का मतदातासँग विकास, स्थिरता र भरोसाको निरन्तरताका लागि आफूलाई विजयी गराउन अपिल गरेका छन्।
मतदातालाई सम्बोधन गर्दै श्रेष्ठले जनताको माया, विश्वास र साथले आफूलाई सधैं अघि बढ्ने हौसला दिएको उल्लेख गरे। समृद्ध बारा–४ निर्माणको अभियानमा पुनः जनतासँगै उभिएको बताउँदै उनले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा सामाजिक सद्भाव सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले मत केवल निर्वाचनको प्रक्रिया मात्र नभई जिम्मेवारी र विश्वासको प्रतीक भएको उल्लेख गर्दै बारा–४ को उज्यालो भविष्य निर्माणका लागि साझा प्रयास आवश्यक रहेको बताए।
“मिलेर काम गरे मात्र समुन्नत बारा सम्भव छ,” उनले भने, “तपाईंहरूको अमूल्य मतले विकासको यात्रालाई निरन्तरता दिनेछ।”
आसन्न निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार श्रेष्ठले घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएका छन्।