सनसाइन बोर्डिङ स्कुलमा होली मिलन समारोह सम्पन्न, सद्भाव र एकताको सन्देश
वीरगञ्ज। Sunshine Boarding Schoolले होली पर्वको शुभ अवसर पारेर होली मिलन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका सञ्चालक तथा प्याप्सन महानगर समितिका सचिव अमित आलोकको अध्यक्षता तथा प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
होली मिलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रीवास्तवले होली पर्वले नेपाली दाजुभाइबीच सद्भाव, एकता र आपसी प्रेम बढाउने विश्वास व्यक्त गर्दै शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अपिल गर्नुभयो। उहाँले होलीका विभिन्न रङहरूजस्तै नेपालका विविध जातजाति, धर्म र संस्कृतिबीच पनि एकता र सद्भाव कायम रहनुपर्ने बताउनुभयो।
त्यसैगरी सनलाइट कलेजका प्रिन्सिपल तथा हिसानका उपाध्यक्ष एवम् प्याप्सनका प्रमुख सल्लाहकार आलोक चौरसियाले होली पर्वले सबैको घरमा खुशी ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै सप्तरङ्गी पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा प्याप्सन जिल्ला कार्यसमिति पर्साका सचिव अशोक संग्रौला, महानगर सदस्य विजय बल, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, सन्नी पाख्रिङ, कोषाध्यक्ष सुरज बाबु पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक दीपक कुसुहाले गर्नुभएको थियो।
होली मिलन समारोहमा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।