वीरगञ्जको हरिखेतान क्याम्पसमा स्थगित परीक्षा पुनः सञ्चालन गर्ने निर्णय, घाइते विद्यार्थीको उपचार क्याम्पसले गर्ने
चैत ८, वीरगञ्ज:
वीरगञ्जस्थित सामुदायिक हरिखेतान बहुमुखी क्याम्पसमा हठात् स्थगित गरिएको परीक्षा तत्काल सञ्चालन गर्ने निर्णय गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको संयोजनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा क्याम्पस प्रशासनद्वारा स्थगित गरिएको परीक्षा तथा पठनपाठन कार्यक्रम तत्काल सुचारु गर्ने सहमति भएको प्रजिअ दाहालले जानकारी दिएका छन्। साथै, परीक्षा स्थगनको विरोधमा उत्रिएका विद्यार्थीमाथि गरिएको लाठीचार्जका क्रममा घाइते भएकाहरूको उपचार खर्च क्याम्पस प्रशासनले व्यहोर्ने सहमति पनि भएको छ।
क्याम्पसमा देखिएको समग्र समस्याको समाधानका लागि चैत ९ गते क्याम्पस प्रशासन, विद्यार्थी प्रतिनिधि र स्थानीय प्रशासनबीच पुनः बैठक बस्ने र त्यसबाट निकास खोजिने निर्णय गरिएको छ। विद्यार्थीका जायज माग र क्याम्पसमा देखिएका समस्या समाधानका विषयमा उक्त बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।
प्रजिअ दाहालका अनुसार विद्यार्थीको भविष्यमा असर नपरोस् भन्ने उद्देश्यले प्रशासनले यस विषयलाई गम्भीर रूपमा लिएको छ।
यसैबीच, प्राध्यापक सुशिल भट्टराईले सामाजिक सञ्जालमार्फत क्याम्पसको समस्या समाधानका लागि वीरगञ्जका सचेत नागरिकलाई एकजुट हुन अपिल गरेका छन्। उनले व्यवस्थापन समितिको नाममा खेतान परिवारको एकल प्रभुत्व रहेको भन्दै असन्तोष व्यक्त गरेका छन्।
पत्रकार जगत राई र ध्रुव साह लगायतले पनि सामाजिक सञ्जालमार्फत क्याम्पसको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
क्याम्पस प्रशासनले कक्षा ११ र १२ को परीक्षा आइतबारदेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरे पनि परीक्षा दिन पुगेका विद्यार्थीलाई मूल गेटमै रोकिएको थियो। आन्दोलनरत शिक्षकहरूले परीक्षा स्थगित गरिएको जनाउँदै प्रवेश गर्न नदिएपछि अवस्था तनावपूर्ण बनेको थियो।