ज्ञानदा एकेडेमीको जुनियर दीक्षान्त समारोह: विद्यार्थीमा उत्साह र आत्मविश्वासको झलक

42

पर्सा, चैत्र २० — ज्ञानदा एकेडेमीले आफ्नो वार्षिक परम्परालाई निरन्तरता दिँदै एसकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्यरूपमा सम्पन्न गरेको छ।

सो कार्यक्रममा सिनियर केजीबाट कक्षा १ मा प्रमोशन हुने विद्यार्थीहरूलाई सम्मान गर्दै विशेष समारोह आयोजना गरिएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रमका मुख्य अतिथिहरू डा. अजय कुमार यादव र डा. प्रमिला गुप्ता यादव हुनुहुन्थ्यो भने विशेष अतिथिमा माधुरी महतो पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला को सभापतित्व रहेको थियो।

त्यसैगरी विद्यालयकी उप-प्रधानाध्यापिका जागृति मिश्र, शैक्षिक प्रमुख सन्ध्या वशिष्ट र अभिभावकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

प्रमुख कार्यकारी अधिकृत कोइरालाले यस प्रकारका कार्यक्रमले छात्र-छात्राहरूमा आत्मविश्वास, उत्साह र मनोवैज्ञानिक रूपमा चुनौतीहरूको सामना गर्ने क्षमता बढाउने बताएका थिए। विद्यालय प्रशासनले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गरेको जनाएको छ।

कार्यक्रमको सहजीकरण प्रि-प्राइमरी संयोजक मुना रानाले गर्नुभएको थियो र यसमा सबै किन्डरगार्टेन शिक्षकहरूको सहभागिता रहेको थियो। विद्यालयले हरेक वर्षझैँ यस वर्षको कार्यक्रम पनि उत्साह, हर्ष र उल्लासका साथ सम्पन्न भएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.