स्मार्ट प्रहरी अवधारणामा नयाँ फड्को : पर्साबाट डिजिटल शौचालय सेवा सुरु

76

वीरगञ्ज, २३ चैत
पर्सामा स्मार्ट प्रहरी अवधारणालाई अघि बढाउँदै डिजिटल प्रविधियुक्त आधुनिक शौचालय सेवा सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको अत्याधुनिक स्नान तथा शौचालय भवन सोमबार उद्घाटन गरिएको हो।

“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै निर्माण गरिएको उक्त भवन नेपालमै पहिलो पटक डिजिटल प्रविधि प्रयोग गरिएको शौचालयका रूपमा चिनिएको छ। यसले प्रहरी कर्मचारीहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै स्वच्छ र सुरक्षित वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै उनले यस्ता पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, भवन निर्माणमा सहयोग पुर्‍याउने रुङ्गटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरप्रति आभार व्यक्त गरे।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पहल अत्यन्त महत्वपूर्ण भएको बताए। उनले स्वच्छता र स्वास्थ्यबीचको सम्बन्ध उल्लेख गर्दै डिजिटल सुविधा युक्त संरचनाले दैनिक कार्यसम्पादनमा सहजता ल्याउने धारणा राखे।

उक्त कार्यक्रममा रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा, लायन्स क्लब आदर्शनगरका प्रकाश बाहेती, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख युबराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुबेदी लगायत विभिन्न सामाजिक तथा सुरक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नव-निर्मित भवनले प्रहरी कर्मचारीहरूलाई स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्नुका साथै समुदाय र प्रहरीबीचको सहकार्य अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.