धादिङका बाढीपीडित २०० परिवारलाई जेन–जी पर्सा र युवा नेता सुधीर पटेलद्वारा १५ लाखको राहत

32

२८ भदौ ।

वीरगञ्जबाट राहत सामग्री लिएर धादिङ पुगेको जेन–जी पर्सा र युवा नेता सुधीर पटेलको टोलीले गजुरी गाउँपालिका–५ र ६ का बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।

धादिङको गजुरी गाउँपालिकामा रहेको बाढीपीडित होल्डिङ सेन्टरमा पुगेर टोलीले करिब २०० परिवारलाई राहत सामग्री वितरण गरेको हो। राहतमा चामल, दाल, आलु, प्याज, नुन, तेल, साबुन, सोयाबिन, चिउरा, दालमोट तथा लत्ताकपडा लगायत सामग्री रहेका छन्। वितरण गरिएको राहत सामग्रीको कुल मूल्य करिब १५ लाख रुपैयाँ रहेको जनाइएको छ।

राहत वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष गोविन्द लामिछाने, वडा नम्बर ६ का अध्यक्ष भक्तबहादुर तामाङ, जेन–जी पर्साका संयोजक महादेव प्रसाद कुर्मी, प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठ, युवा अभियन्ता तथा समाजसेवी सुशील पटेल, जेन–जीका चन्दन महतो र रोकि खानलगायतको उपस्थिति रहेको थियो।

टोलीले बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले वीरगञ्जबाट राहत सामग्री लिएर धादिङ पुगेको जनाएको छ। हिजो वीरगञ्जबाट राहत सामग्रीसहित धादिङका लागि प्रस्थान गरेको टोलीले आज प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेको हो।

Leave A Reply

Your email address will not be published.