पर्सा प्रहरीको चैत्र महिनाको प्रगति सार्वजनिक: अपराध नियन्त्रणदेखि राजश्व असुलीसम्म उल्लेखनीय उपलब्धि

57

वैशाख ३ वीरगञ्ज आनन्द पटेल। जिल्ला प्रहरी कार्यालय पर्साले चैत्र महिनाभरको आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण र फैसला कार्यान्वयन तर्फ उल्लेख्य सफलता हासिल गरेको जनाएको छ।

प्रेस विज्ञप्ति अनुसार, उक्त अवधिमा कुल १५२ वटा अपराधका मुद्दा दर्ता भएका छन्, जसमध्ये सबै भन्दा धेरै ५८ वटा मुद्दा संगठित तथा आर्थिक अपराधसँग सम्बन्धित रहेका छन्। विभिन्न घटनामा संलग्न १०२ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयन तर्फ प्रहरी सक्रिय देखिएको छ। फरार रहेका ६८ जना प्रतिवादीलाई पक्राउ गरी १३ वर्ष ३ महिना २५ दिन कैद भुक्तान गराइएको छ भने १ करोड २३ लाख २० हजार ७४८ रुपैयाँ जरिवाना असुल गरिएको छ।

राजश्व चुहावट नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ५ करोड ४० लाख ४२ हजार ४०५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। भन्सार छलीका सामानमध्ये १ लाख ६४ हजार ५३० रुपैयाँ मूल्य बराबरको सामान सहित एक जना पक्राउ परेका छन्। अवैध वन पैदावार तर्फ २५ क्यूविक फिट सालको काठ र दुईवटा साइकल बरामद गरी १ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ।

लागू औषध नियन्त्रणमा पनि प्रहरी सक्रिय देखिएको छ। सात वटा मुद्दा दर्ता गरी १३ जनालाई पक्राउ गरिएको छ भने १६४ केजी ९६ ग्राम गाँजा, १.८५ ग्राम ब्राउन सुगर र ५१ हजार ८०० वटा विभिन्न औषधिजन्य लागू पदार्थ बरामद गरिएको छ। साथै तीन वटा अवैध हातहतियार, ३०० ग्राम बारुद लगायतका सामग्री पनि फेला पारिएको छ।

सवारी दुर्घटनातर्फ चैत्र महिनामा जिल्लाभर ७८ वटा दुर्घटना भएका छन्, जसमा दुई जनाको मृत्यु र १२१ जना घाइते भएका छन्। ट्राफिक कारवाहीका क्रममा ९०९ सवारी साधनलाई कारवाही गरी ११ लाख ५६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ।

घरेलु हिंसासम्बन्धी ६७ वटा उजुरीमध्ये ६४ वटामा मिलापत्र गराइएको छ। साथै लागू औषध, आत्महत्या तथा ट्राफिक सचेतना सम्बन्धी १४२ वटा कार्यक्रम सञ्चालन गरी ३ हजार ३५५ जनालाई लाभान्वित गरिएको प्रहरीले जनाएको छ। विद्यालय केन्द्रित कार्यक्रम मार्फत ७७५ विद्यार्थीलाई सचेत गराइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै CCTV निगरानी, सामाजिक सञ्जाल अनुगमन र नियमित गस्तीमार्फत जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाइएको छ।

Leave A Reply

Your email address will not be published.