मधेशको सामाजिक परिवेश र बदलाको कथा समेटिएको ‘प्रतिवैरम्’ को पोस्टर सार्वजनिक
काठमाडौं । मधेशको सामाजिक परिवेश, संघर्ष, सम्बन्ध, पीडा र बदलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘प्रतिवैरम्’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले फिल्मको रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै आगामी मङ्सिर ४ गतेदेखि देशभरका फिल्म हलमा प्रदर्शन हुने जनाएको छ।
सार्वजनिक पोस्टरले फिल्मको गम्भीर तथा एक्सनप्रधान कथावस्तुको संकेत गरेको छ। आगोको ज्वालालाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरले संघर्ष र बदलाको भावलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
पोस्टरको केन्द्रमा मुख्य अभिनेता सम्राट दासलाई रगताम्मे, आक्रामक तथा निडर अवतारमा प्रस्तुत गरिएको छ। उनले अभिनेत्री सुप्रज्ञा शर्मालाई अङ्गालोमा सुरक्षित राख्न खोजिरहेको दृश्य पोस्टरमा देखाइएको छ। परम्परागत मधेसी पहिरनमा रहेकी सुप्रज्ञाको अनुहारमा रगतका छिटा देखिने भएकाले फिल्ममा एक्सनसँगै प्रेम, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथा पनि समेटिएको संकेत मिल्छ।
रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म सिम्पल एड मिडिया, श्रीयन इन्टरटेनमेन्ट तथा आदर्श प्रोडक्सन्सको सहकार्यमा तयार भएको हो। फिल्मको कथा लेखन तथा निर्देशन रोशन दासले गरेका छन् भने पटकथा तथा संवाद युवराज भट्टराईले लेखेका हुन्। फिल्मका निर्माता सत्यराज चौलागाईं ‘एसआरसी’ र हर्ष कुमार यादव रहेका छन्।
फिल्ममा अनिश पोखरेल को–प्रोड्युसर, विक्की साह एक्जिक्युटिभ प्रोड्युसर तथा राकेश साह क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्। छायांकन कृष्ण बर्देवा ‘ज्याक’, सम्पादन कबिर ओड तथा कलर ग्रेडिङ श्याम कुँवरले गरेका छन्।
‘प्रतिवैरम्’ मार्फत सम्राट दासले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। फिल्ममा उनीसँगै वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, प्रदीप ढकाल, नवीन श्रेष्ठ र नारायण बी।क। लगायतका कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको अर्को विशेषता यसको बहुभाषिक प्रस्तुति रहेको छ। ‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा दर्शकमाझ आउनेछ।
निर्माण पक्षका अनुसार मैथिली र भोजपुरी भाषामार्फत मधेशको वास्तविक कथा, भावना र परिवेशलाई मधेशका विभिन्न क्षेत्रका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ। त्यस्तै, हिन्दी संस्करणमार्फत सीमावर्ती भारतीय बजार तथा हिन्दीभाषी दर्शकमाझ फिल्मको पहुँच विस्तार गर्ने रणनीति निर्माण टिमले लिएको जनाएको छ।