विदाईको खुसी बाँडे सेवामा, जीएचपी स्कुलका विद्यार्थीद्वारा ८० थान विद्यालय झोला सहित शैक्षिक सामग्री वितरण

67

वीरगञ्ज, ५ साउन आनन्द पटेल।

जीएचपी स्कुलका कक्षा १० का विद्यार्थीहरूले आफ्नो विदाई कार्यक्रमबाट बचत भएको रकमलाई सामाजिक सेवामा उपयोग गर्दै मानवता, सामाजिक उत्तरदायित्व र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

विद्यार्थीहरूले रङपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय का विद्यार्थीहरूका लागि ८० थान नयाँ विद्यालय झोला, सेतो लेख्ने पाटी (ह्वाइट बोर्ड) तथा बालविकास कक्षाका साना बालबालिकाका लागि कार्पेट हस्तान्तरण गरेका हुन्।

सहयोग कार्यक्रमका क्रममा सीमित स्रोत–साधनका बाबजुद पनि त्यहाँ अध्ययनरत विद्यार्थीहरूको शिक्षाप्रतिको लगाव, संघर्ष र सिकाइप्रतिको उत्साहलाई नजिकबाट नियाल्न पाएको कक्षा १० का विद्यार्थीहरूले बताएका छन्। यस अनुभवले आफूहरूलाई जीवनमा अझ बढी मेहनत गर्न, परिश्रम गर्न र हरेक चुनौतीको दृढतापूर्वक सामना गर्न प्रेरणा दिएको उनीहरूको भनाइ छ।

जीएचपी स्कुल परिवारले कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूको यस अनुकरणीय कार्यको प्रशंसा गर्दै विदाई कार्यक्रमको बचत रकमलाई सामाजिक सेवामा प्रयोग गर्ने उनीहरूको सोच सबैका लागि प्रेरणादायी रहेको जनाएको छ।

विद्यालयले विद्यार्थीहरूको सेवाभाव, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना आगामी दिनमा पनि निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.