तेरापंथ युवक परिषद् बीरगञ्जद्वारा दुई दिनमा दुई आपतकालीन रक्तदान, नवजात शिशु र सुत्केरीको ज्यान जोगाउन सहयोग

83

वीरगञ्ज आनन्द पटेल । तेरापंथ युवक परिषद् (तेयुप) बीरगञ्जले लगातार दुई दिनमा दुई आपतकालीन रक्तदान अभियान सञ्चालन गर्दै एक नवजात शिशु र एक सुत्केरी महिलाको उपचारका लागि आवश्यक रगत उपलब्ध गराएको छ।

परिषद्का अनुसार, १९ जुलाई २०२६ मा नेशनल मेडिकल कलेजमा उपचाररत श्रीमती रामपति देवीका ९ दिनका शिशुका लागि बी–पोजिटिभ (B+) समूहको एक युनिट रगतको अत्यावश्यक आवश्यकता परेको जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै ‘ब्लड अन कल’ अभियानका संयोजक आशीष चौरडियाले आपतकालीन रक्तदातासँग समन्वय गरी आवश्यक रगतको व्यवस्था गरेका थिए। राति करिब ११:३० बजे रक्तदाता करण शर्मा ब्लड बैंक पुगेर रक्तदान गरेपछि शिशुको उपचारका लागि आवश्यक रगत उपलब्ध भएको परिषद्ले जनाएको छ।

यस्तै, २० जुलाई २०२६ मा श्री राम अस्पतालमा उपचाररत ३० वर्षीया प्रीति यादव (डेलिभरी केस) का लागि पनि बी–पोजिटिभ (B+) समूहको एक युनिट रगत आवश्यक परेको थियो। परिषद्ले पंकज बैदको सहयोगमा पुनः ‘ब्लड अन कल’ अभियान मार्फत रक्तदाताको व्यवस्थापन गरेको थियो। त्यसक्रममा निर्मल सिंघानिया तत्काल ब्लड बैंक पुगेर रक्तदान गर्दै बिरामीका लागि आवश्यक रगत उपलब्ध गराएका थिए।

तेरापंथ युवक परिषद् बीरगञ्जले दुवै रक्तदाताप्रति आभार व्यक्त गर्दै उनीहरूको समयमै गरिएको सहयोगले बिरामीको जीवन बचाउने महत्वपूर्ण योगदान पुगेको जनाएको छ। परिषद्ले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवाका रूपमा उल्लेख गर्दै आवश्यक पर्दा रक्तदान गर्न इच्छुक व्यक्तिहरूलाई सदैव तयार रहन पनि आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.