जन्माष्टमीमा १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई गहवा माई समितिको शैक्षिक सामग्री

62

वीरगञ्ज, १८ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति (रथयात्रा समिति), वीरगञ्जले नगरका विभिन्न विद्यालयमा राधा–कृष्णको रूप धारण गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी प्रोत्साहित गरेको छ।

समितिले जन्माष्टमीको अवसर पारेर वीरगञ्जका १५ वटा विद्यालयमा पुगेर राधा तथा कृष्णको रूप धारण गरेका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो।

धार्मिक तथा सांस्कृतिक पर्वलाई बालबालिकामाझ सिर्जनात्मक र उत्साहपूर्ण ढंगले मनाउँदै उनीहरूलाई स्थानीय कला, संस्कृति तथा परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका सचिव पप्पु गुप्ताले बताए।

गुप्ताका अनुसार विद्यालयमै पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै जन्माष्टमीमा उनीहरूको सहभागितालाई प्रोत्साहित गरिएको थियो। यस्तो कार्यक्रमले बालबालिकामा धार्मिक तथा सांस्कृतिक परम्पराप्रति रुचि बढाउनुका साथै अध्ययनप्रति समेत थप उत्साह जगाउने समितिको विश्वास छ।

कार्यक्रम समितिका उपाध्यक्ष देवानन्द कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल, विजय सर्राफ, सदस्य श्याम गुप्ता, प्रभु साह, मुन्ना साह, दिपु गुप्ता र मुना सर्राफलगायतको सहभागिता रहेको थियो।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले विगतदेखि नै गहवा माई रथयात्रासँगै धार्मिक, सांस्कृतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जनाएको छ।

जन्माष्टमीका अवसरमा गरिएको यस पहलले विद्यार्थीको सहभागिता र प्रतिभालाई प्रोत्साहन गर्नुका साथै स्थानीय कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.