भोटेकोशी बाढीबाट सिर्जित विपद् अन्त्यको कामना सहित वीरगञ्जमा रुद्राभिषेक पूजा

34

वीरगञ्ज आनन्द पटेल। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित राष्ट्रिय संकट तथा प्राकृतिक विपद्बाट राष्ट्रलाई मुक्ति मिलोस् भन्ने कामना सहित वीरगञ्ज स्थित पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा तथा विशेष प्रार्थना गरिएको छ।

कर्मकाण्डी ब्राह्मण समाजको आयोजनामा बुधबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा–अर्चना गर्दै बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत जिल्लामा सञ्चालन भइरहेको उद्धार तथा राहत कार्य सफलता पूर्वक सम्पन्न होस् भन्ने कामना गरिएको हो।

पूजाका क्रममा बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको वैकुण्ठवासको कामना गरिएको थियो। साथै, विपद्मा परी घाइते भएका तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवन यापनका लागि समेत विशेष प्रार्थना गरिएको कर्मकाण्डी ब्राह्मण समाजले जनाएको छ।

राष्ट्रमा आइपरेको विपद् छिट्टै अन्त्य होस्, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यले गति लिऊन् र देशमा शान्ति, समृद्धि तथा सुख–शान्ति कायम रहोस् भन्ने उद्देश्यले रुद्राभिषेक सहित सामूहिक पूजा गरिएको बताइएको छ।

श्री पशुपतिनाथ मन्दिरका मूल पुजारीहरू सहित कर्मकाण्डी ब्राह्मण समाजका अध्यक्ष उत्तम उपाध्याय, गुरु लक्ष्मी प्रपन्नाचार्य, सचिव बलराम सुवेदी, पुरुषोत्तम उपाध्याय, गोपी गुरुलगायत १८ जना गुरु तथा ब्राह्मणले सामूहिक रूपमा रुद्राभिषेक पूजा तथा वैदिक विधि अनुसार पूजा–अर्चना गरेका थिए।

पूजामा वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय र श्रीमती मुना भट्टराई मुख्य यजमानका रूपमा सहभागी हुनुभएको थियो। उहाँहरूले राष्ट्रमा आइपरेको विपद् छिट्टै अन्त्य होस् र प्रभावित नागरिकले शीघ्र राहत तथा सहयोग प्राप्त गरून् भन्ने कामनासहित पूजा सम्पन्न गर्नुभएको थियो।

कर्मकाण्डी ब्राह्मण समाजले प्राकृतिक विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राज्य र सम्बन्धित निकायले गरिरहेको प्रयासमा सफलता मिलोस् भन्ने कामना गर्दै धार्मिक तथा आध्यात्मिक माध्यमबाट सामूहिक प्रार्थना गरिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.