मानव सेवामा लायन्सको ठूलो योगदान, आश्रमलाई नवनिर्मित भवन हस्तान्तरण

72

वीरगञ्ज आनन्द पटेल। लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवनको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) को १ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा वीरगञ्ज महानगरपालिका–लक्ष्मणवा नौतनमा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित एक कार्यक्रमबीच समुद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सञ्जय खेतानले मानव सेवा आश्रमजस्तो सामाजिक संस्थालाई आवश्यक पूर्वाधार उपलब्ध गराउनु मानवीय सेवाप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो । उहाँले आश्रममा आश्रित व्यक्तिहरूको संरक्षण, आवास र सेवाका लागि निर्माण गरिएको भवनले संस्थाको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापाले राज्यको प्रयाससँगै सामाजिक संघसंस्था र नागरिकस्तरबाट हुने सहयोगले मानव सेवाको अभियानलाई थप बलियो बनाउने बताउनुभयो । उहाँले आश्रममा आश्रित व्यक्तिहरूको संरक्षण तथा पुनःस्थापनाका लागि यस्ता पूर्वाधारको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्टका गभर्नर लायन राम बिहारी पाण्डेयले लायन्स क्लबले सामाजिक सेवाका विभिन्न क्षेत्रमा गर्दै आएको कामअन्तर्गत मानव सेवा आश्रमको भवन निर्माणमा गरिएको सहयोग महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले भवन निर्माणका लागि सहयोग गर्ने लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन तथा लायन्स क्लबका पदाधिकारी र सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नवनिर्मित भवनबाट आश्रममा रहेका व्यक्तिहरूलाई सुरक्षित र व्यवस्थित वातावरणमा सेवा प्रदान गर्न थप सहज हुने बताउनुभयो ।

कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमका अध्यक्ष लायन वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डका अध्यक्ष लायन खुश्बु अग्रवालले संयुक्त रूपमा गर्नुभएको थियो । दुवै अध्यक्षले मानव सेवाको उद्देश्यले निर्माण गरिएको भवन हस्तान्तरण गर्न पाउनु क्लबका लागि गौरवको विषय भएको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा PMCC कार्यक्रम संयोजक लायन रमेश कुमार अग्रवाल, PDG लायन डी.एन. अग्रवाल, लायन राजकुमार सिन्धी, PDG लायन डा. आर.पी. खेतान, क्याबिनेट सचिव लायन बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष लायन रामेश्वर गुप्ता, लायन गणेश लाठ, लायन प्रकाश थारू, एरिया चिफ लायन सुनील गुप्ता तथा लायन्स क्लब अफ रक्सौलका बिमल सर्राफ लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, समाजसेवी प्रकाश चौधरी, कमल चौगाई, लायन्स क्लब जोन चेयरपर्सन तथा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, मीनाक्षी गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

LCIF को १ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको भवन हस्तान्तरणसँगै मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको आवास, संरक्षण तथा सेवा व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका देवेश मानवले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.