प्याप्सनको हाजिरी जवाफ प्रतियोगिता : सिनियरमा ३२ र जुनियरमा २८ विद्यालय सहभागी हुने

88

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पर्सा र प्याप्सन वीरगञ्ज महानगरको संयुक्त आयोजनामा सिनियर तथा जुनियर हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ।

सो प्रतियोगिताको तयारी र समुह विभाजन गर्ने कार्यक्रम बुधबार सम्पन्न भएको छ। बैठक एस.आर. ग्यालेक्सी स्कुलको सभा हलमा भएको थियो । उक्त बैठक प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकले आगामी भदौ २१ र २२ गते कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरू सहभागी हुने सिनियर हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगितामा पर्साका ३२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने प्याप्सन जिल्ला कार्यसमिति पर्साका सचिव अमित आलोकले जानकारी दिए।

त्यसैगरी, भदौ २६ र २७ गते कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरू सहभागी हुने जुनियर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिने भएको छ। जुनियर तर्फ २८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने सचिव अशोक संग्रौलाले बताए।

प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले विद्यार्थीहरूको ज्ञान, तार्किक क्षमता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। विद्यालयस्तरबाटै विद्यार्थीहरूमा सामान्य ज्ञान तथा समसामयिक विषयप्रति रुचि बढाउनुका साथै प्रतिभाको पहिचान गर्ने अवसरका रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ।

प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिनियर तथा जुनियर दुवै तहका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। उनले प्रतियोगितामा सहभागी हुने विद्यालयका विद्यार्थीहरूलाई आवश्यक तयारीसहित सहभागी हुन आग्रह गरे।

प्रतियोगिताले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै उनीहरूको शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास प्याप्सनले लिएको छ।

कार्यक्रममा प्याप्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, कोषाध्यक्ष सुरज बाबु पटेल, कार्यसमिति सदस्य विजयबल, क्रियाशील युवा पत्रकार मञ्च पर्साका अध्यक्ष आनन्द पटेल, जगत समाचारका सञ्चालक जगत राई , सञ्चारकर्मी जितेन्द्र साह लगायत विभिन्न निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन प्याप्सन वीरगञ्ज महानगरका सचिव अमित आलोकले गरेका थिए।

Leave A Reply

Your email address will not be published.