नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले मनायो ६४औँ स्थापना दिवस

10

वीरगञ्ज, १९ भदौ ।

नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले शुक्रबार वीरगञ्ज स्थित शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।

मानवता, सेवा र परोपकारको भावनालाई आत्मसात् गर्दै स्थापना भएको रेडक्रसको स्थापना दिवसका अवसरमा संस्थापक जाँ हेनरी ड्युनाँको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा झण्डोत्तोलन, दीप प्रज्वलन तथा संस्थापक ड्युनाँको तस्बिरमा माल्यार्पण गरी दिवस मनाइएको हो।

नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका कार्यकारिणी सदस्यहरू दिनानाथ रौनियार, रेशमकोठी उपशाखाका अभिलाष गुप्ता, हरिन्द्र प्रसाद, काशी प्रसाद, जयनारायण चौधरी, रामाकान्त पटेल, पूर्णबासी राउत, मिन्टु सिंह, प्रदीप गुप्ता, लक्ष्मीनारायण राउत, मिना क्षेत्रीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यालय प्रमुख वीरसमसेर कुर्मीको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँको तस्बिरमा फूलमाला तथा अबिर अर्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए। सहभागीहरूले विपद्, स्वास्थ्य संकट तथा मानवीय कठिनाइका समयमा रेडक्रसले पुर्‍याउँदै आएको सेवाको चर्चा गर्दै संस्थाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा रेडक्रस मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता र विश्वव्यापीताजस्ता आधारभूत सिद्धान्तमा आधारित रहेर मानवीय सेवामा क्रियाशील रहेको बताइएको थियो। पर्सा शाखाले पनि स्थानीयस्तरमा विपद् व्यवस्थापन, रक्तसञ्चार, स्वास्थ्य सेवा, उद्धार तथा राहतलगायतका क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको उल्लेख गरिएको थियो।

कार्यक्रममा सहभागी रेडक्रसकर्मी तथा पदाधिकारीहरूले आगामी दिनमा विपद् तथा संकटमा परेका नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै मानव सेवामा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्थापना दिवसले रेडक्रसको मानवीय सेवा तथा परोपकारको मूल भावनालाई थप मजबुत बनाउँदै समाजमा स्वयंसेवा र मानवीय सहयोगको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरिएको थियो।

Leave A Reply

Your email address will not be published.