पर्सामा घरभित्र लुकाइएको १८ किलो ७०० ग्राम गाँजा बरामद, ७० वर्षीय महतो पक्राउ
वीरगञ्ज, भदौ २५ आनन्द पटेल।
पर्सामा प्रहरीले घरभित्र लुकाइछिपाइ राखेको ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
लागूऔषध गाँजा लुकाईछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ५ बजे पटेर्वा सुगौली गाउँपालिका–४ भथौरा स्थित एक घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा स्थानीय ७० वर्षीय दुखी महतोको घरभित्र प्लास्टिक सहित १८ किलो ७०० ग्राम गाँजा लुकाईछिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा बरामद गर्नुका साथै महतोलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका महतोमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी शेर मल्लले जानकारी दिएका छन्।