ओमानलाई ध्वस्त पार्दै नेपाल फाइनलमा, एसिया कप अब एक जित टाढा

55

काठमाडौं, भदौ २५।

नेपाली बलरको घातक प्रदर्शनपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। बिहीबार भएको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलिङसामु टिक्न सकेन। २८.१ ओभरमै सबै विकेट गुमाएको ओमानले ६० रन मात्र बनाउन सक्यो। ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाए भने बाँकी ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालको जितमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी मुख्य नायक बने। दुवैले ३–३ विकेट लिए। ललित राजवंशी र रोहित पौडेलले २–२ विकेट लिएपछि ओमानको इनिङ्स चाँडै समाप्त भयो।

यस अघि पहिले ब्याटिङ गरेको नेपालले भने सहज सुरुवात गर्न सकेको थिएन। १२ ओभरभित्रै ३६ रनमा ४ विकेट गुमाएको नेपाललाई दीपेन्द्रसिंह ऐरी र बसिर अहमदको साझेदारीले उकासेको थियो।

दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ७६ बलमा चार चौका प्रहार गरे। पहिलो खेल खेलिरहेका बसिरले ४७ रन बनाए। उनले ८८ बलमा तीन चौका र एक छक्का हाने।

यी दुई ब्याटर आउट भएपछि नेपाल फेरि दबाबमा परेको थियो र ४५.४ ओभरमा १४७ रनमा अल आउट भयो।

अब शनिबार हुने फाइनलमा नेपालले यूएईसँग खेल्ने छ। फाइनल जित्ने टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा सहभागिता जनाउने छ।

नेपालका लागि यो खेल उपाधिका साथै एसिया कपमा स्थान सुरक्षित गर्ने महत्वपूर्ण अवसर बनेको छ।

Leave A Reply

Your email address will not be published.