सांसद सुशील साह कानुद्वारा माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव उद्घाटन

70

वीरगञ्ज, भदौ २९ ।

वीरगञ्जको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थान युवा क्लबले आठौँ गणेश पूजा महोत्सव भव्य रूपमा आयोजना गरेको छ। माईस्थान मन्दिरअगाडिको पार्कमा आयोजित महोत्सवको सोमबार पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले उद्घाटन गर्दै विधिवत् रूपमा गणेश पूजाको शुभारम्भ गर्नुभएको हो।

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा महाआरती, संगीतमय भजनसन्ध्या, धार्मिक अनुष्ठान तथा विभिन्न देवी–देवताका कलात्मक एवं दिव्य झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ। दैनिक साँझ ७ बजेदेखि विशेष दिव्य झाँकीसहित धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने क्लबका पूर्वअध्यक्ष राहुल रौनियारले जानकारी दिनुभयो।

रौनियारका अनुसार यस वर्षको गणेशोत्सवलाई विगतका वर्षभन्दा थप आकर्षक, संगीतमय र ऐतिहासिक बनाउने तयारी गरिएको छ। धार्मिक आस्था, संस्कृति तथा परम्पराको संरक्षण गर्दै वीरगञ्जवासीलाई एकै स्थानमा भेला गराई भक्तिमय वातावरण निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो।

महोत्सवमा वीरगञ्ज तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण वीरगञ्जवासीलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।

चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भएपछि पाँचौँ दिन विशेष कार्यक्रमसहित महोत्सवको समापन गरिनेछ। समापनका अवसरमा विशेष रूपमा तयार पारिएको लड्डुको भोग तथा प्रसाद सर्वसाधारण र भक्तजनलाई वितरण गरिने आयोजकले जनाएको छ।

महोत्सवका धार्मिक अनुष्ठानहरूलाई शास्त्रीय तथा विधिवत् रूपमा सम्पन्न गराउन चर्चित ‘ज्योतिष सम्राट’ डा. पुरुषोत्तम दुबेले यस वर्ष पनि मुख्य पण्डितको जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँको धार्मिक मार्गदर्शनमा पूजा तथा अन्य अनुष्ठान सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन कार्यक्रममा माईस्थान युवा क्लबका अध्यक्ष सागर सर्राफ, उपाध्यक्ष शुभम पटेल, कोषाध्यक्ष लखन गुप्ता, सचिव सुभाष गुप्ता, पत्रकार संयोजक अभिलाष कुमार गुप्ता, सन्तोष किश्वाहा लगायतको उपस्थिति रहेको थियो।

गणेश भगवान्प्रति श्रद्धा तथा आस्था प्रकट गर्दै धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको महोत्सवले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने आयोजकको विश्वास छ।

Leave A Reply

Your email address will not be published.