अनिल रुंगटाले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता तथा पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अनिल रुंगटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
पार्टीभित्र महाधिवेशन केन्द्रित गतिविधि तीव्र भइरहेका बेला रुंगटाले समावेशी मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुंगटा पर्सामा प्रभावशाली नेताका रूपमा परिचित छन्। संविधानसभा सदस्य तथा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका उनले संगठन निर्माण, पार्टी गतिविधि तथा मधेसका राजनीतिक र सामाजिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न तहका नेताहरूले आफ्नो उम्मेदवारी घोषणा तथा तयारीलाई तीव्रता दिएका छन्। सोही क्रममा रुंगटाको उम्मेदवारीलाई पर्सा तथा मधेस क्षेत्रको पार्टी राजनीतिमा चासोका साथ हेरिएको छ।
रुंगटाले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउने, मधेसका मुद्दालाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने तथा संगठनलाई चलायमान बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।