एलएस हस्पिटलमा रक्तदान, १३ महिला सहित ४८ जनाले गरे रक्तदान

47

बारा ।

बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेजको परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अस्पतालले बिरामीको उपचारका क्रममा रगतको अभाव हुन नदिन तथा स्थानीयस्तरमै रगत संकलन गरी मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा १३ महिला सहित ४८ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पछिल्लो समय वीरगञ्जस्थित ब्लड बैंकमा रगतको अभाव देखिँदा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तले आवश्यक रगत जुटाउन कठिनाइ भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ। संकलित रगतले आकस्मिक अवस्था, शल्यक्रिया तथा अन्य उपचारका क्रममा आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रक्तदान कार्यक्रममा सहभागी अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले नियमित रक्तदानले आपत्कालीन अवस्थामा कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। स्वस्थ व्यक्तिले समय–समयमा रक्तदान गर्नु सामाजिक जिम्मेवारीसँगै मानवीय सेवाको महत्वपूर्ण माध्यम भएको उनीहरूको भनाइ थियो।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै ‘रक्तदान जीवनदान’ भन्ने भावनालाई व्यवहारमै उतारेका थिए। महिला रक्तदाताको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

एलएस हस्पिटल एन्ड मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा. अर्जुन पटेलले अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जनहितकारी तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा पनि रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा समुदायकेन्द्रित अन्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

डा. पटेलका अनुसार यस्ता कार्यक्रमले स्वास्थ्य संस्थालाई समुदायसँग अझ नजिक जोड्नुका साथै संकटका बेला आवश्यक पर्ने रगत व्यवस्थापनमा समेत सहयोग पुर्‍याउनेछ। स्थानीय समुदाय, स्वास्थ्यकर्मी, कर्मचारी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूसँगको सहकार्यमा आगामी दिनमा मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाउँदै लैजाने उनले बताए।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी सबैप्रति डा. पटेलले धन्यवाद व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.