गौतम माध्यमिक विद्यालयमा इन्भेस्टिचर समारोह सम्पन्न, विद्यार्थी परिषद्लाई जिम्मेवारी हस्तान्तरण

43

वीरगञ्ज, १० साउन — गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै इन्भेस्टिचर समारोह–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयमा आयोजित समारोहमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै पदअनुसार ब्याज लगाई सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाको वीरगञ्जस्थित श्री जंग गणका गणपति (कर्णेल) लोकेन्द्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौराज प्रधान, एल्भिन सर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले विद्यार्थी परिषद्का पदाधिकारीहरूलाई पदअनुसार ब्याज लगाइदिँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका थिए। यस क्रममा स्वरा झा हेड गर्ल, अभिनव ठाकुर हेड ब्वाय, प्रियम कुमारी सिन्हा र सिद्धार्थ कुमार मिश्रा हेड प्रिफेक्ट, अदिति पिठाकोटे मगर र बासु चौरसिया अतिरिक्त क्रियाकलाप (ईसीए) प्रमुख, आर्या चौरसिया र अंकित कुमार अनुशासन प्रमुख, रिजन चापागाईं र स्वस्तिका रौनियार सामाजिक पहुँच प्रमुख, दिप्शिखा गुप्ता र अनिश चौधरी खेलकुद प्रमुख, जबेरिया खातुन र आलोक शाह भाषा प्रमुख, रुशाली माली श्रेष्ठ र अर्नव केजरीवाल डिजिटल वेलनेस प्रमुख तथा मेहविश प्रवीन र ऋषभ गुप्ता सह–पाठ्यक्रम (सीसीए) प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो। साथै अन्य विभिन्न विद्यार्थीहरूलाई पनि उनीहरूको जिम्मेवारीअनुसार ब्याज वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णेल लोकेन्द्र कार्कीले विद्यालय जीवनमै नेतृत्व, अनुशासन, जिम्मेवारी र सेवाभावको विकास गर्न सके भविष्यमा सक्षम नागरिक बन्न सहज हुने उल्लेख गरे। उनले विद्यार्थी परिषद्मा चयन भएका विद्यार्थीहरूलाई इमानदारी, समर्पण र उत्तरदायित्वका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।

अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक गणेश क्षेत्रीले विद्यार्थी परिषद् विद्यालयमा नेतृत्व विकास गर्ने महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नवनिर्वाचित पदाधिकारीहरूले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उत्साहपूर्ण वातावरणमा सम्पन्न इन्भेस्टिचर समारोहले विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्व, अनुशासन तथा सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.