चैत महिनामा मधेश सहित देशभर विपद्का घटनामा ३० जनाको मृत्यु

75

१० बैशाख । गत चैत महिनामा देशभर विभिन्न विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ। आगलागी, हुरी, चट्याङ र हिमपात लगायतका विपद्का घटनामा १६ पुरुष, १० महिला र चार बालबालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त अवधिमा विपद्का घटनामा २२२ जना घाइते भएका छन् भने १४३ जना विस्थापित हुनुपरेको छ। विपद्‌का कारण १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै, ५२९ वटा चौपाया मरेका छन्।

प्रहरीका अनुसार विपद्‌बाट करिब रु ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विपद् प्रतिकार्य तथा उद्धार कार्यमा चार हजार ८४१ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

प्रदेशगत विवरण अनुसार कोशीमा २७२, मधेशमा १३६, बागमतीमा ८५, काठमाडौं उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना दर्ता भएका छन्।

प्रहरीले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन आवश्यक सतर्कता अपनाइरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.