काठमाडौंको वायु गुणस्तर निकै अस्वस्थ, विश्वकै दोस्रो प्रदूषित शहर
काठमाडौं, बिहीबार । काठमाडौं विश्वकै दोस्रो सबै भन्दा प्रदूषित शहर बनेको छ। स्विजरल्यान्ड स्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार बिहीबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्युआई) २११ पुगेको छ, जुन “निकै अस्वस्थ” श्रेणीमा पर्छ।
यस अघि बिहान एक्युआई २४७ सम्म पुगेको थियो। वायु गुणस्तर सूचकांक २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ मानिन्छ। प्रदूषित शहरको सूचीमा पहिलो स्थान पाकिस्तानको लाहोर रहेको छ, जहाँ एक्युआई २४७ रहेको जनाइएको छ।
नेपाल सरकारद्वारा स्वीकृत मापदण्ड अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक तह मानिन्छ।
वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने लगायतका स्वास्थ्य समस्या बढ्ने जोखिम उच्च रहेको विज्ञहरूले बताएका छन्। उनीहरूले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा बालबालिका, वृद्ध र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।