वीरगञ्ज, २० भदौ आनन्द पटेल।
विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वीरगञ्जस्थित नवदीप एकेडेमीले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन पक्षको सहभागितामा संकलन गरिएको रकममध्ये विद्यार्थीबाट १५ हजार रुपैयाँ तथा शिक्षक र व्यवस्थापन पक्षबाट ३५ हजार रुपैयाँ संकलन गरिएको हो।
विद्यालयले संकलन गरेको उक्त ५० हजार रुपैयाँ प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीलाई हस्तान्तरण गरेको छ। अध्यक्ष चौधरी मार्फत उक्त रकम बाढीपीडितहरूको राहत तथा उद्धारमा प्रयोग गरिने जनाइएको छ।

विद्यालयकी डाइरेक्टर तथा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साहले विपद्को समयमा पीडितलाई राहत पुर्याउने उद्देश्यले विद्यालय परिवारको सहभागितामा रकम संकलन गरिएको बताउनुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा व्यवस्थापन पक्षको उपस्थिति रहेको थियो।
विपद्को यस घडीमा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले गरिएको सहयोगले मानवीय भावना तथा सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ। सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो।
“मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो” भन्ने भावनासहित विद्यालय परिवारले विपद्मा परेकाहरूलाई सहयोग गर्न सबैमा अपिल समेत गरेको छ।