भारततर्फ लैजाँदै गरेको ११ किलो गाँजासहित एक व्यक्ति पक्राउ

39

वीरगञ्ज, असार १६ ।

पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले गाँजा जस्तो देखिने प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार सोमबार बिहान करिब २ बजे बी.ओ.पी. प्रसौनीभाठ्ठा र बी.ओ.पी. अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले शंकास्पद अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी अन्दाजी ५८ वर्षीय मनोहर सहनी रहेका छन्। उनी भारततर्फ जाँदै गरेको अवस्थामा बोकेको प्लास्टिकको बोराको जाँच गर्दा दुई पोकामा राखिएको करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ तथा पक्राउ परेका सहनीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनराज निरौलाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.