विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव र करियरको प्रेरणा दिँदै वीरगञ्ज कलेजमा ओलिभर कुराटसँग अन्तरक्रिया
वीरगञ्ज, असोज १४ आनन्द पटेल।
वीरगञ्ज स्थित होटल भिस्वाको परिसरमा रहेको वीरगञ्ज कलेज अफ होटल म्यानेजमेन्टमा न्युजिल्यान्डबाट आएका मिस्टर ओलिभर कुराट (Mr. Oliver Currat) को प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कलेजका डाइरेक्टर बिवेकमान श्रेष्ठ र एमडी सुस्मृता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रिन्सिपल गुञ्जन पटेलको पनि सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, कलेजका शिक्षक–शिक्षिका, व्यवस्थापन टोली तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि कुराटले होटल व्यवस्थापन तथा आतिथ्य सत्कार क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए। उनले आफ्ना अनुभव, ज्ञान तथा अन्तर्राष्ट्रिय स्तरमा आतिथ्य क्षेत्रको सम्भावनाबारे विद्यार्थीहरूसँग विचार आदान–प्रदान गरेका थिए।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले होटल व्यवस्थापन, आतिथ्य सत्कार, पर्यटन, अन्तर्राष्ट्रिय कार्य वातावरण तथा रोजगारीका अवसरलगायतका विषयमा जिज्ञासा राखेका थिए। कुराटले विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै व्यावसायिक दक्षता, व्यवहारिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवको महत्वबारे जानकारी गराएका थिए।
कलेजले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीलाई होटल व्यवस्थापन तथा आतिथ्य क्षेत्रको विश्वव्यापी सम्भावना बुझ्न र भविष्यको करियरका लागि आवश्यक ज्ञान तथा दृष्टिकोण विकास गर्न सहयोग पुग्ने कलेजको विश्वास छ।

कार्यक्रममा पत्रकारका रूपमा सहभागी सञ्चारकर्मी अभिलाष गुप्तालाई कलेज व्यवस्थापन टोलीले ‘टोकन अफ लभ’ प्रदान गरी सम्मानसमेत गरेको थियो। सम्मानका लागि गुप्ताले वीरगञ्ज कलेज अफ होटल म्यानेजमेन्टको सम्पूर्ण व्यवस्थापन टोलीप्रति आभार व्यक्त गरेका छन्।
कलेजका डाइरेक्टर गुन्जन पटेलले विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक र अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।