विश्व वातावरण दिवसमा साउथ जोन सेकेण्ड्री स्कूलमा ‘ग्रीन डे’ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
वीरगञ्ज, २२ जेठ । विश्व वातावरण दिवस २०८३ को अवसरमा साउथ जोन सेकेण्ड्री स्कूलले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ग्रीन डे’ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
दिवसको अवसरमा विद्यालयको प्रि–प्राइमरी तहका विद्यार्थीहरूले हरियो पोशाकमा सहभागी भई ‘ग्रीन डे’ मनाएका थिए। कार्यक्रममा वातावरण संरक्षण, हरियालीको महत्व तथा स्वच्छ वातावरणसम्बन्धी सन्देशमूलक विविध गतिविधि सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
त्यसैगरी विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको छ। शिक्षक नायक अर्जुन बन्ठा चौधरीको नेतृत्वमा विद्यालय परिसरभित्र विभिन्न प्रजातिका विरुवाहरू रोपिएका थिए।
कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा हरित वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारीबोध, प्रकृतिप्रेम तथा संरक्षणको भावना विकास गर्न सहयोग पुग्ने जनाएको छ। साथै आगामी दिनमा पनि वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।