वीरगञ्जमा सन साइन इंग्लिश बोर्डिङ स्कुलद्वारा गुरु पूर्णिमा भव्य रूपमा मनाइयो
वीरगञ्ज, साउन १३ आनन्द पटेल। वीरगञ्ज महानगरपालिका–१४, पिपरा स्थित सन साइन इंग्लिश बोर्डिङ स्कुलले गुरु पूर्णिमा (शिक्षक दिवस) विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्दै टीका लगाइदिने, फूल तथा उपहार अर्पण गर्ने कार्यक्रम गरेका थिए। साथै गीत, नृत्य, कविता, नाटकलगायत विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै विद्यार्थीहरूले गुरु–शिष्य सम्बन्धको महत्त्व उजागर गरेका थिए।
कार्यक्रममा विद्यालयका डाइरेक्टर अमित आलोक, कोअर्डिनेटर दिपक कुमार, शिक्षक–शिक्षिका, विद्यार्थी तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डाइरेक्टर अमित आलोकले गुरुको सम्मान गर्नु नेपाली संस्कृतिको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित, नैतिकवान् र परिश्रमी भई शिक्षामा उत्कृष्टता हासिल गर्न प्रेरित गर्नुभयो। कोअर्डिनेटर दिपक कुमारले यस्ता कार्यक्रमले विद्यार्थीमा शिक्षकप्रतिको सम्मान, कृतज्ञता, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमको समापनमा विद्यालय परिवारले सहभागी सबै शिक्षक–शिक्षिका, विद्यार्थी तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेको थियो। विद्यालयका अनुसार विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र आकर्षक सांस्कृतिक प्रस्तुतिका कारण यस वर्षको गुरु पूर्णिमा कार्यक्रम सफल, स्मरणीय र अनुकरणीय बनेको छ।