वीरगञ्ज–११ मा ३० दिने ब्यूटिसियन तथा मेहेन्दी तालिम सम्पन्न, सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह

33

वीरगञ्ज, २५ जेठ ।

वीरगञ्ज महानगरपालिका वडा नं. ११ को संयोजकत्व तथा स्वरोजगार व्यावसायिक तालिम केन्द्र, वीरगञ्ज–११ पर्साको आयोजनामा सञ्चालन गरिएको ३० दिने ब्यूटिसियन तथा मेहेन्दी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर तथा स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रम आइतबार सम्पन्न भएको हो।

समापन समारोहका प्रमुख अतिथि वडा नं. ११ का वडा अध्यक्ष अजय कुमार बरईले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारिक रूपमा प्रयोग गर्दै आफ्नै व्यवसाय सञ्चालन गर्न तथा आय आर्जनका अवसर सिर्जना गर्न सहभागी महिलाहरूलाई आग्रह गरे। उनले महिलाहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका लागि यस्ता तालिमहरू प्रभावकारी हुने उल्लेख गर्दै कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेकोमा स्वरोजगार व्यावसायिक तालिम केन्द्रलाई धन्यवाद व्यक्त गरे।

 

कार्यक्रममा वडा सदस्यहरू जगनलाल महतो, मुस्तकीम हवारी, सलमा खातुन, वडा सचिव उमेश शर्मा लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले तालिममा सिकेका सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यावसायिक तथा रोजगारीमूलक कार्यमा रूपान्तरण गर्न सहभागीहरूलाई सुझाव दिएका थिए।

तालिममा सहभागी महिलाहरूले ब्यूटिसियन तथा मेहेन्दीसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरेका छन्। कार्यक्रमका वक्ताहरूले महिलाहरूको आर्थिक सशक्तीकरण तथा आत्मनिर्भरताका लागि यस्ता सीपमूलक तालिमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रम सहभागीहरूको उत्साहपूर्ण उपस्थितिका बीच सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.