शिक्षा र संस्कृतिमा अलग पहिचान बनाएको साउथजोन माविले गर्‍यो नयाँ नेतृत्वलाई शपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

120

वीरगञ्ज, असार ९ – वीरगञ्ज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालय मा नयाँ विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा, अनुशासन, नेतृत्व विकास तथा अतिरिक्त क्रियाकलापमा विशेष पहिचान बनाउँदै आएको विद्यालयले २०८३ सालका लागि निर्वाचित विद्यार्थी नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हो।

विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरी को सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन, खेलकुद संयोजक तथा अनुशासन प्रमुखलगायत विद्यार्थी नेतृत्वलाई शपथ गराइएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामिछानेले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र व्यक्तित्व विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले जिम्मेवारी पाउनु मात्र ठूलो कुरा नभई त्यसलाई इमान्दारीपूर्वक पूरा गर्नु नै वास्तविक उपलब्धि भएको उल्लेख गर्दै नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई विद्यालयको नीति–नियमको पालना गर्दै उदाहरणीय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी, प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, नेपाल इनोभेटिभ सोसाइटी का अध्यक्ष कमल चौगाई, एलाइड युथ सोसाइटी का अध्यक्ष ओमकुमार झा, मानव आश्रम सेवा का केन्द्रीय सदस्य देवेश मानव, क्रियाशील पत्रकार मञ्च का अध्यक्ष आनन्द पटेल लगायतले विद्यालयका गतिविधि तथा विद्यार्थीहरूको प्रतिभाको खुलेर प्रशंसा गरेका थिए।

सो अवसरमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो। साथै नर्सरीदेखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीका साथै दलित, अपाङ्ग, शहीद परिवार, आदिवासी, अल्पसंख्यक तथा मधेसी समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार यस वर्ष विद्यार्थी नेतृत्व चयन प्रक्रिया अनलाइन मतदान प्रणाली मार्फत सम्पन्न गरिएको थियो। निर्वाचित विद्यार्थीहरूले अब विद्यालयका विभिन्न गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका प्रमिला श्रेष्ठ ले व्यक्त गरेकी थिइन् भने सहजीकरण सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए।

विगत केही वर्षयता शैक्षिक गुणस्तर, अनुशासन, संस्कार, संस्कृति र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्दै आएको साउथजोन माध्यमिक विद्यालयले वीरगञ्जको निजी विद्यालय क्षेत्रमै विशिष्ट पहिचान बनाएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएका कार्यक्रम तथा नवीन शैक्षिक अभ्यासका कारण विद्यालयप्रति अभिभावक र समुदायको विश्वास दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

Leave A Reply

Your email address will not be published.