समाजमा सकारात्मक मूल्य र संस्कारको विस्तार आवश्यक : बिमल सर्राफ

63

रक्सौल, पूर्वी चम्पारण : लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट–३२२ ईका जोनल चेयरपर्सन तथा सामाजिक कार्यकर्ता एवं भारत विकास परिषद्, रक्सौल शाखाका सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल सर्राफले समाजमा सकारात्मक मूल्य र संस्कारको विस्तार आवश्यक रहेको बताएका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सर्राफले जीवनमा मूल्यमान्यता र संक्रमण दुवै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने उल्लेख गर्दै मूल्यमान्यताले समाज र मानव सभ्यतालाई समृद्ध बनाउने, जबकि नकारात्मक सोच र विकृतिले समाजलाई क्षति पुर्‍याउने धारणा राखे।

उनले भौतिक रूपमा सम्पन्न हुनुभन्दा मानसिक रूपमा समृद्ध हुनु बढी महत्वपूर्ण रहेको बताए। छल, कपट, झुट र बेइमानीबाट प्राप्त सम्पत्तिले दीर्घकालीन सुख र सन्तुष्टि दिन नसक्ने उल्लेख गर्दै इमानदारी, सरलता र नैतिक आचरण नै सफल जीवनको आधार भएको उनको भनाइ थियो।

सर्राफले वर्तमान डिजिटल युगमा मानिसहरू सामाजिक सञ्जाल र आभासी उपस्थितिमा बढी केन्द्रित बन्दै गएको भन्दै वास्तविक सम्बन्ध, जिम्मेवारी र मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। उनले अरूलाई प्रभावित पार्ने प्रयासभन्दा स्वाभाविक र सरल व्यवहारले नै मानिसको मन जित्न सकिने बताए।

उनले चिन्ताले भविष्यका समस्या समाधान नगर्ने, बरु वर्तमानको शान्ति पनि खोस्ने भएकाले सकारात्मक सोचका साथ जीवन जिउन सबैलाई आग्रह गरे। जन्मदेखि मृत्युसम्मको यात्रालाई नै जीवनको वास्तविक अर्थ बताउँदै उनले आफ्नो स्वभाव, आत्मविश्वास र साहसका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

सर्राफले कठिन परिस्थितिमा साथ दिने सम्बन्ध नै जीवनभर स्मरणीय रहने उल्लेख गर्दै समाजमा सहयोग, सद्भाव, नैतिक मूल्य र मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिए।

Leave A Reply

Your email address will not be published.