भारत विकास परिषद्को ६४ औँ स्थापना दिवसमा रक्सौलमा वृक्षारोपण र वातावरण संरक्षणबारे सेमिनार

60

रक्सौल : भारत विकास परिषद्, रक्सौल शाखाले आफ्नो ६४औँ स्थापना दिवसको अवसरमा शुक्रबार ऐतिहासिक सौनाहा माई मन्दिर परिसरमा वृहत् वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी सेमिनार आयोजना गरेको छ।

कार्यक्रमको शुभारम्भ भारत माता र स्वामी विवेकानन्दको तस्बिरमा पुष्पाञ्जली अर्पण तथा सामूहिक रूपमा ‘वन्दे मातरम्’ गाएर गरिएको थियो। त्यसपछि मन्दिरका पुजारी चन्द्रिका दासको समन्वयमा वैदिक मन्त्र उच्चारणका बीच औषधीय, फलफूल दिने, छायादार तथा अक्सिजन उत्सर्जन गर्ने विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। यस अवसरमा पुजारी चन्द्रिका दासलाई शाल ओढाएर सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

शाखा अध्यक्ष रजनीश प्रियदर्शीले परिषद्को ६४औँ स्थापना दिवस राष्ट्रसेवा, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यप्रतिको समर्पणको प्रतीक भएको बताए। उनले ६४ वर्षदेखि परिषद्ले निरन्तर समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सेवा, संस्कार र समर्पण नै संस्थाको मुख्य शक्ति रहेको धारणा राखे।

वातावरण संयोजक विजय कुमार साह र संयोजक अजय कुमारले परिषद्को स्थापना इतिहासबारे जानकारी गराउँदै सन् १९६३ मा स्वामी विवेकानन्दको जन्मशताब्दीको अवसरमा परिषद्को स्थापना भएको स्मरण गरे। उनीहरूले परिषद्ले राष्ट्र निर्माण, सेवा र सांस्कृतिक जागरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए।

सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफ र संस्कृति संयोजक नितेश कुमार सिंहले वातावरण संरक्षण वर्तमान समयको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको दायित्व पनि भएको बताए। उनीहरूले वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै रोपिएका बिरुवाको संरक्षणमा पनि ध्यान दिन सबैलाई आग्रह गरे।

कार्यक्रममा सुनील कुमार, उमेश सिकरिया, बिमल कुमार सर्राफ, नितेश कुमार सिंह, विजय कुमार साह, अरविन्द जायसवाल, मनोज कुमार, विनोद कुमार, पुजारी चन्द्रिका दास, राजु गुप्ता, कृष्ण प्रसादलगायत परिषद्का पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

परिषद्का सम्पर्क संयोजक उमेश सिकरिया र सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफका अनुसार कार्यक्रमले सेवा, संस्कृति, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो।

Leave A Reply

Your email address will not be published.