ह्वील लक विवादपछि आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, देशभर चर्कियो बहस

33

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ। उनको मृत्युले प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा देशभर व्यापक चर्चा र बहसको विषय बनेको छ।

मुगुको सोरु गाउँपालिका–१ निवासी नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। यसअघि नो पार्किङ क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएको थियो। त्यसपछि आक्रोशित बनेका उनले आत्मदाहको प्रयास गरेका थिए।

गम्भीर घाइते भएका नेपालीलाई तत्काल वीर अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने सरकारी तयारी भए पनि स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेकाले चिकित्सकको सल्लाहअनुसार वीर अस्पतालमै उपचार गरिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको वीर अस्पतालले पुष्टि गरेको छ।

घटनापछि मृत्युको कारण र नगर प्रहरीको भूमिकाबारे अनुसन्धान गर्न प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुई महिला र एक पुरुष नगर प्रहरीलाई कालीमाटी प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ।

यस घटनाले संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभामा समेत गम्भीर बहसको विषय बनेको छ। सांसदहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जाल, नागरिक समाज तथा विभिन्न क्षेत्रबाट पनि घटनाप्रति गहिरो चासो व्यक्त गर्दै न्यायको माग भइरहेको छ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले वीर अस्पताल पुगेर नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। साथै, घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघर मण्डलालगायत विभिन्न स्थानमा प्रदर्शनसमेत भएका छन्।

प्रहरीले घटनासम्बन्धी सम्पूर्ण पक्षको अनुसन्धान जारी रहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.