साउथ जोन माध्यमिक विद्यालयद्वारा ‘असार महिनाको उत्कृष्ट विद्यार्थी’ सम्मान

88

वीरगञ्ज ,आनन्द पटेल।

साउथ जोन माध्यमिक विद्यालयले विद्यार्थीमा निरन्तर अध्ययन, अनुशासन र मेहनत गर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले ‘असार महिनाको उत्कृष्ट विद्यार्थी (Student of the Month – Ashad)’ सम्मान प्रदान गरेको छ।

विद्यालयले शैक्षिक सुधार, लगनशीलता, समर्पण र निरन्तर प्रगतिका आधारमा छनोट गरिएका विद्यार्थीलाई Certificate of Achievement प्रदान गर्दै सम्मान गरेको हो।

सम्मान कार्यक्रम विद्यालयका प्रधानाध्यापक सरोज चौधरी, सह–प्रधानाध्यापक अशोक संग्रौला तथा शिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रधानाध्यापक चौधरीले उत्कृष्टता एकै दिनमा हासिल नहुने उल्लेख गर्दै निरन्तर प्रयास, अनुशासन र आत्मविश्वास नै सफलताको मुख्य आधार भएको बताए। उनले यस्ता सम्मानले विद्यार्थीमा सकारात्मक प्रतिस्पर्धा, आत्मविश्वास र अध्ययनप्रतिको जिम्मेवारी बढाउने विश्वास व्यक्त गरे।

सह–प्रधानाध्यापक संग्रौलाले प्रत्येक विद्यार्थीमा फरक–फरक क्षमता रहेको उल्लेख गर्दै निरन्तर मेहनत गर्ने विद्यार्थीलाई विद्यालयले सधैं प्रोत्साहन गर्ने नीति लिएको बताए। उनले यो सम्मानले अन्य विद्यार्थीलाई पनि नियमित अध्ययन र आत्मविकासतर्फ प्रेरित गर्ने धारणा राखे।

कार्यक्रममा सहभागी शिक्षकहरूले समेत विद्यार्थीको सानो–सानो प्रगतिलाई समयमै सम्मान गर्न सके त्यसले ठूलो उपलब्धि हासिल गर्न प्रेरणा दिने बताए।

विद्यालयका अनुसार ‘Student of the Month’ कार्यक्रमको उद्देश्य उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई मात्र होइन, निरन्तर सुधार, लगनशीलता र दृढ इच्छाशक्तिका साथ अघि बढिरहेका विद्यार्थीको प्रयासलाई सम्मान गर्दै सम्पूर्ण विद्यार्थीमा सकारात्मक प्रेरणा जगाउनु हो।

विद्यालयले सम्मानित विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.