स्वास्थ्य कार्यालय बाराद्वारा वातावरण प्रदूषण न्यूनीकरण सम्बन्धी बहस तथा पैरवी कार्यक्रम सम्पन्न

41

आनन्द पटेल

बारा, जेठ २४

वातावरण प्रदूषण न्यूनीकरण तथा यसको प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय बाराको आयोजनामा आइतबार प्रसौनी गाउँपालिकामा बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।

प्रसौनी गाउँपालिकास्थित श्री बेगा साह माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखाका प्रतिनिधि, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार गिरीले गरेका थिए।

कार्यक्रमका प्रमुख सहजकर्ता जीतपुर–सिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रविकुमार भास्करले वातावरणीय प्रदूषण आजको विश्वकै गम्भीर चुनौतीका रूपमा रहेको बताउँदै यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, जैविक विविधता तथा प्राकृतिक स्रोतसाधनमा परिरहेको उल्लेख गरे।

उनले बढ्दो वायु प्रदूषण, वन विनाश, अव्यवस्थित फोहोर व्यवस्थापन, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोग, सवारीसाधन तथा उद्योगबाट निस्कने धुवाँले वातावरणीय संकट गहिरिँदै गएको बताए। “यदि अहिले नै सचेत भई सुधारका कदम चालिएन भने आगामी पुस्ताले स्वच्छ हावा, स्वच्छ पानी र सुरक्षित वातावरण पाउन कठिन हुनेछ,” उनले भने।

भास्करले विशेष गरी पानी प्रदूषणले विभिन्न किसिमका संक्रामक रोग, झाडापखाला, टाइफाइड, हैजा लगायतका स्वास्थ्य समस्या निम्त्याइरहेको उल्लेख गरे। नदी, पोखरी तथा अन्य जलस्रोतमा फोहोर, रसायन तथा ढल मिसाउने प्रवृत्तिले खानेपानीका स्रोतहरू समेत जोखिममा परेको उनको भनाइ थियो।

त्यसैगरी ध्वनि प्रदूषण पनि पछिल्लो समय बढ्दो समस्याका रूपमा देखिएको उनले बताए। अत्यधिक सवारीसाधनको आवाज, लाउडस्पिकरको अनियन्त्रित प्रयोग तथा औद्योगिक गतिविधिबाट उत्पन्न ध्वनिले मानिसमा तनाव, निद्रा समस्या, मानसिक असन्तुलन तथा श्रवणशक्ति कमजोर हुने जोखिम बढाउने उनले जानकारी दिए।

कार्यक्रममा वातावरणीय विनाशका कारण जलवायु परिवर्तन, अनियमित वर्षा, खडेरी, बाढी, गर्मीको वृद्धि तथा कृषि उत्पादनमा पर्ने नकारात्मक प्रभावबारे समेत विस्तृत छलफल गरिएको थियो। वातावरण संरक्षणका लागि वृक्षारोपण, प्लास्टिकको प्रयोग न्यूनीकरण, फोहोरको उचित व्यवस्थापन, पानीका स्रोतहरूको संरक्षण तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

सहभागीहरूले विद्यालय, समुदाय तथा घरपरिवारबाटै वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई वातावरण संरक्षण सम्बन्धी शिक्षा प्रदान गर्ने, समुदायलाई सचेत बनाउने तथा सञ्चारमाध्यममार्फत वातावरणीय सन्देश प्रवाह गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रमको व्यवस्थापन स्वास्थ्य कार्यालय बाराका फोकल पर्सन भगीरथ चौधरीले गरेका थिए भने सञ्चालन प्रसौनी गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेश शाहले गरेका थिए।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण केवल सरकार वा कुनै एक निकायको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको निष्कर्ष निकाल्दै स्वच्छ, हरित र स्वस्थ वातावरण निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.